Online Nepali Literature Forum
   

Users Online : 20
| More
अक्षरको आकार:   - | +
कथा/लोककथा
भविष्य (गोविन्द बेल्बासे) - [2011-09-11]

चिन्तमणि एयरपोर्टबाट घरमा आएर तातो कफीको कप लिएर सोफामा बस्नासाथ रिमोर्टको वचन थिचे। टिभीमा समाचार आउन थाल्यो । समाचारमा ब्रेकिङ न्यूजका रुपमा अन्तरिक्षमा एउटा ग्रह पृथ्वीतिर आउँदै गरेको समाचार थियो । समाचारमा नासालाई उद्धृत गर्दै त्यस ग्रहको गतिअनुसार सोह्र दिनमा पृथ्वीसम्म आइपुग्ने र ठोक्किने बताइँदै थियो। समाचारले उनको दिमाग नै एकाग्र रुपमा तान्यो । टेबुलको कफी समेत खान बिर्सिएर समाचारमा आँखा लगाइरहे । उनको दिमागले विविध कुरा सोच्न थाल्यो। अर्को ग्रह आएर पृथ्वीमा ठोक्किएर सबै खत्तम हुने विनाश हुन सक्ने कल्पनाले उनी चिन्तित पनि भए।

त्यत्तिकैमा उनले सुप्रियालाई सम्झिए । घडी हेरे, दिउँसोको ११ बजेर सत्र मिनेट गएको रहेछ । सुप्रियाको प्लेन ल्याण्ड भैसके होला भन्ने सोचेर मोवाइल थिचे। अर्को ध्यान भने टिभीमा आइरहेको समाचारतिर थियो ।

सुप्रियाले मोवाइलमा 'तिम्रो फ्लाइट त भोलि आइपुग्ने भनेको आजै आइसकेको हो र?' भनेर सोधिन् । चिन्तामणिले आफ्नो साथीले अलि सञ्चो नभएको बताएर 'मेरो प्लाइट उसले ल्याउने भनेकोले उसको फ्लाइट मैले ल्याएकोले एकछिनअघि म घरमा आइपुगेको हुँ' –भने । 'सिड्नीबाट उड्ने बेला हत्तपत्त भएकोले तिमीलाई पहिले खवर गर्न पाइँन भन्दै 'छिटो घर आऊ' भनेर फोन सहमतिमा दुबैले काटे। सुप्रियाले पनि आफ्नो अर्को फ्लाइटको रोटामा सही धस्क्याएर सीधै घर हुत्तिइन् ।

टिभीले त्यही ग्रहको विषयमा समाचार केन्द्रित गर्दै विभिन्न विद्वान, समाजशास्त्री र खगोलशास्त्रीहरुको अन्तरवार्ता दिन थाल्यो । चिन्तामणि भने ब्रेकफास्ट खान समेत बिर्सेर समाचार हेर्दै गरे । वैज्ञानिकहरु र खगोलशास्त्रीहरुले पृथ्वीको र मानव समाजको आयू १६ दिन मात्र बचेको र त्यो ग्रह पृथ्वीमा ठोक्किएर सबै ध्वस्त हुने तर्क बताउँदै थिए। राजनीतिज्ञहरु पृथ्वीलाई बचाउँने विकल्प अपनाउन विभिन्न प्रयास गर्न मिटिङ हुँदैगरेको र वैज्ञानिकहरुले ग्रहलाई पृथ्वीमा ठोक्किन नदिने वाचा गर्दै जनतालाई धैर्य हुन आग्रह गर्दै सान्त्वना दिँदै थिए। तर उनीहरुका अनुहारले १६ दिन मात्र आयू रहेको थाहा पाएर उनीहरु आफै पनि अत्ताल्लिएको देखाइरहेको थियो ।

त्यत्तिकैमा मोवाइलको घण्टी बज्यो। स्कि्रनमा सुप्रियाको फोटो देखियो र फोन उठाउँदै 'अँ .....भन डार्लिङ' भन्दै चिन्तामणिले कुरा सुरु गरे । उताबाट सुप्रियाले आफूले पनि ब्रेकफास्ट नखाएकोले चिन्ताले पनि खाने भए बाटोमा कतैबाट लिएर आउने बताएपछि बल्ल चिन्ताले आफ्नो भोक अनुभव गर्दै हुन्छ भन्ने सहमतिमा सुप्रियालाई कतैबाट ब्रेकफास्ट लिएर घर आउन आग्रह गरे । उनको मनमा त्यो सन्सनीपूर्ण समाचार सुप्रियालाई बताउँजस्तो लाग्यो । तर सुप्रिया बेकारमा आत्तिन्छिन् भनेर तत्काल नभन्ने विचारले केही भनेनन् । घरमा आएपछि बताउने सोचेर फोन काटे ।

समाचारमा विश्लेषण गर्न स्टुडियो ल्याइएका कतिपय ब्यक्तिले भने पृथ्वी ध्वस्त हुने कुरा वाहियात भएको र अमेरिका र यूरोपतिरको आर्थिक संकटलाई नयाँ मोड दिन यो हल्ला सुनियोजित रहेको तर्क गर्दै थिए । अर्काथरिले कन्स्पिरेसी थ्योरीमा रनभुल्ल पर्ने होइन वैज्ञानिकहरुले अन्तरिक्षमै बम हानेर त्यो ग्रहको मार्ग परिवर्तन गर्नुपर्ने बताउँदै थिए । अर्काथरि विशेषज्ञले वैज्ञानिकहरुले केही उपाय लगाएर आकासमै ध्वस्त पार्न सक्ने वा बाटो अन्तै मोडेर पृथ्वीमा ठोक्किन नदिने उपाय अपनाउन सक्ने स्थिति भएको भए जनताहरु आत्तिने त्यस्तो समाचार नासाले दिने नै थिएन भनेर तर्क प्रस्तुत गरे । पृथ्वी र मानिसको आयू अब १६ दिन मात्र भएको बताउँदैगर्दा ढोका घरक्क गरेको आवाजले चिन्तामणि झस्किए। झस्किँदै ढोकातिर हेर्दा सुप्रिया रहिछन्। चिन्ता झस्किएको देखेर सुप्रिया पनि अचम्म पर्दै 'तिमीलाई के भयो? किन यसरी झस्केको?' भनेर सोधिन्।

'हेर न .... समाचारमा सेन्टिमेन्ट भएको रहेछु, तिमीले ढोका खोल्दा झस्किएँ' उनले भने। 'के त्यस्तो समाचार छ र ? तिमी त्यस्तो सेन्टिमेन्ट भएको?' सुप्रियाले सोधिन्।

'टिभीतिर इसारा गर्दै एउटा प्लानेट पृथ्वीमा ठोक्किन आउँदै छ भनेर नासाले भनेको छ, अब १६ दिनमा ठोकिन्छ रे' चिन्ताले भने । सुप्रियाले प्रतिक्रिया दिइन् 'त्यसो भए सोह्र दिनसम्म खाने पिउने मस्ती गर्ने, प्लेन उडाउन पनि नजाने क्या मस्ती !'

चिन्तालाई सुप्रियाको ठट्यौली कुरा चित्त बुझेन। उनले भने- 'ठट्टा होइन साँच्चै हो, अब १६ दिनमा सबै खत्तम ।'

आठ महिनाअघि मात्र चिन्तामणिसँग विवाह गरेकी पाइलट सुप्रियाले आफ्नो पाइलट श्रीमान साँच्चै चिन्तित भएको देखेर सिरियस भइन्। ब्रेकफास्टको 'टेक–अवे' कफी टेबुलमा राख्दै चिन्ताको काखमा बसेर चिन्तामणिको चिन्ता भगाउन थालिन् । एकछिन दुवै जना लडीबुडी गरे त्यहीँ सोफामा । अलि चिसो भएको चिन्तामणिको कफी देखेर सुप्रियाले चिन्तालाई जिस्काउँदै ब्रेकफास्ट प्लेटमा खन्याएपछि दुबैले खाए। ब्रेकफास्ट खाँदै बीच–बीचमा कीस खाँदै पृथ्वी ध्वस्त हुन लागेको चिन्ता बिर्सने असफल प्रयासमा दुवैजना लागे । टिभीमा समाचार आइरह्यो । सबै विषय त्यही ग्रहको वरिपरि नै घेरिएको थियो । १६ दिनमा सबै खत्तम हुन्छ भनेर चिन्तित भएर झोक्रिएका थिए कतिपय मान्छेहरु । त्यही झोक्रिएका मान्छेलाई पनि टिभीले देखाइरहेको थियो । कतिपय भने अब १६ दिन त छ नि भन्दै रमाइलो गर्न पार्टी गर्ने, नाच्ने गर्दैगरेको दृष्य टिभीमा देखाइँदै थियो ।

बीचबीचमा पत्रकारहरुले आम नागरिक बाटोमा हिँड्दै गरेका बटुवाहरु, ट्राफिक जाममा रोकिएका ड्राइभरहरुसँग १६ दिनमा पृथ्वी ध्वस्त हुने समाचारका विषयमा प्रतिक्रिया लिँदै थिए ।

यत्तिकैमा ल्याण्डलाइन फोनको घन्टी बज्यो। चिन्तामणिले फोन उठाउँदा कामबाट रोटा मिलाउने म्यानेजरको फोन रहेछ। म्यानेजरले अचानक प्लेनको सबै टिकट बुक भएकोले भोलिपल्टको एक्स्ट्रा फ्लाइट चिन्तामणिले उडाउन आग्रह गर्दै रोटा मिलाउन अनुमति माग्यो । तर चिन्तामणिले उसको आग्रह ठाडै अस्वीकार गरिदिए। उसलाई उत्तर दिँदा उनले झर्केर उत्तर दिएको पनि उनलाई होस भएन। 'संसार ध्वस्त हुन लाग्यो भनेर अरुलाई घर फर्कन हतार भएको छ त मलाई पनि बाँकी दिन मेरी प्यारी श्रीमतीसँग बस्ने मन छ, प्लेन उडाउने त्यो पनि एक्स्ट्रा–फ्लाइट उडाउन..., दोहोर्‍याएर फोन नगर्नु' भन्दै उनले फोन काटिदिए।

सुप्रियालाई पनि त्यो समाचारले अत्याएको त थियो तर चिन्तामणिलाई कसरी सम्हाल्ने भन्नेमा उनको मन केन्द्रित भयो। उनले अनेक ठट्टा गर्दै उनलाई भुलाउने प्रयास गरिन् । आखिर सोह्र दिन त बाँकी छ नि भन्दै समुन्द्र किनारामा घुम्न जान चिन्तालाई मनाएपछि दुबै जना निस्किए । पहिला त फ्लाइट उडाएर आजै आएको भन्दै टालटुल पार्न प्रयास गरे चिन्ताले । तर सुप्रियाले धेरै कर गरेपछि आफूलाई पनि मन भुलाउन बाहिर निस्के ठीक होला भन्दै बाहिर निस्कन तयार भए । ग्यारेजबाट सेतो विएमडब्लु–कार निकालेर सुप्रियाले नै ड्राइभ गर्न थालिन् । समुन्द्र किनारको एउटा रेष्टुरेन्टमा पसेर दुबैले ड्रिङ्क्स खान थाले । जताततै चर्चा त्यही बाँकी सोह्र दिनको थियो । रेष्टुरेन्टमा काम गर्ने सेफ र वेटर लगायतका मान्छेहरु पैसा अब किन कमाउनु पर्‍यो भन्दै मस्तीमा डुब्न थालेकोले मालिक आफै भ्याईनभ्याई ब्यापारमा मस्त भएर ग्राहकको सेवा गर्दै थिए । चिन्ता र सुप्रियाका छेवैका टेबुलमा बसेका जोडीले यी मालिकहरुलाई १६ दिन बाँकी हुँदा पनि पैसा थुपार्न हतार छ भन्दै ब्यङग्य गर्दै थिए। अर्काथरिले चाहिँ १६ दिनमा पैसा कमाएर बैंकको ऋण तिर्न रेष्टुरेन्ट मालिक कस्सिएको भन्दै खिसी गर्दै थिए । तर रेष्टुरेन्ट खचाखच भरिएको थियो । काम गर्ने वेटरको कमीले गर्दा पनि ग्राहकहरु आफ्नो पालो पर्खेर बसिरहेका छन् ।

अर्को दिन बिहान पनि समाचार १५ दिन बाँकी भन्दै त्यही विषयमा केन्द्रित थियो । संसार ध्वस्त हुन्छ भनेर सबैजना या त मस्ती गर्नमा या त चिन्तित भएर आ–आफ्ना काममा ध्यान नदिएकोले शहरको फोहोर पनि उठेन । जतततै फोहर थुप्रिन थाल्यो । रेष्टुरेन्टहरु लथालिङ्ग हुन थाले । दुकानहरु बन्द रहेकाले उपभोक्ताहरुलाई अप्ठेरो हुन थालेकोमा काममा फर्कन नागरिकहरुलाई सरकारले आग्रह गर्दै सूचना टिभीमा दिन थाले । पत्रिकाहरुका सबै समाचार र लेखहरु बाँकी १५ दिनमै केन्द्रित थिए ।

क्रमशः १४–१३–१२–११ हुँदै दिनहरु कम हुँदै गए। आ–आफ्ना घर फर्कन चाहनेहरुले गर्दा एयरपोर्टहरु खचाखच भए । पेट्रोल पम्पहरुमा पेट्रोल सकिँदै गयो । सप्लाई रोकिँदै गयो । त्यो ग्रह पृथ्वीमा ठोकिनुभन्दा पहिला नै शहरहरु लथालिङ्ग हुन थाले । दुकानका कामदारहरु नआएपछि भोका ग्राहकहरुले दुकान फोरेरै आ–आफूलाई आवश्यक सामान लिएर जान थाले । कसैले सामानमा लेखेको मुल्य टिलमा छाडेर जान्थे, कसैले पैसा नै नतिरी त्यसै सामान बोकेर जान थाले ।

दुकानहरुका ढोकाका साइरनहरु बजिरहँदा कसैलाई केही मतलव थिएन । कसैले सामान लगेपछि दुकानका ढोका त्यसै छोडिदिन थाले । कसैले भने लगाएर छाड्थे ।

अब चार दिन बाँकी छ भन्ने हुँदा ब्यांकका क्यास मेसीनहरु पनि रित्ता भैसकेका थिए । पाउरोटी र खाने सामानहरुको हाहाकार मच्चिन थाल्यो । खाना पकाउन जान्नेहरुले त पकाउने खाने गरे । तर धनाढ्यहरुका र ऐयासी र सेलीब्रीटीहरुका नोकरहरु आ–आफ्नै मस्तीमा हिँडेकोले उनीहरुलाई निकै समस्या पर्न थाल्यो । न पकाउने ढंग छ न त विन र फोहोर कहाँ फाल्नु उनलाई थाहा छ । न त कतै रेष्टुरेन्ट गएर खाने अवस्था छ।

हुँदा हुँदा टिभीमा काम गर्ने मान्छेहरुको पनि कमी हुँदै गयो । यता चिन्ता र सुप्रिया दुबैजना पाइलट भएकाले उनीहरुले आफ्नो छुट्टै योजना बनाए । नासाले ग्रह ठोक्किने भनेर तोकेको समयभन्दा साढे दुई घण्टा अगाडि एयरपोर्ट गएर ठूलो जेट प्लेनमा पुरै तेल भरे। सेक्युरिटीको त कुनै चिन्ता हुने कुरै भएन । घर जान नपाएर एयरपोर्टमा आएर रक्सी खाएर मस्त भएका मान्छेहरु फाट्टफुट्ट थिए त्यहाँ ।

तेलले ट्याङ्की भरिएको प्लेनको पाइलट सिटमा चिन्ता र सुप्रिया चढेर प्लेन उडाए । ग्रह पृथ्वीमा ठोक्किने भनेको ठीक समयमा उनीहरुको प्लेन पृथ्वीबाट ३६ हजार फिट माथिको आकासमा उड्न थाल्यो । हेर्दा हेर्दै आकासमा चन्द्रमा जत्रो डल्लो उछिट्टिएको देखे दुबै जनाले । चिन्तामणिले पृथ्वीमा ग्रह ठोक्किएर चोइटा उडेको होला भन्न नपाउँदै ठूलो आवाजको तरङ्ग प्लेनको एउटा स्कृनमा देखियो । प्लेनमा जोडिएका पृथ्वीको सम्पर्कका सबै यन्त्रहरु चल्न छाडे । अब केवल ती दुई जना मात्र आपसमा कुरा गर्न सक्छन् । बाँकी दुनियाँ के भयो उनीहरुलाई पनि थाहा थिएन । त्यत्तिकैमा पानी आएर प्लेनमा ठोक्कियो । सुप्रियाले समुन्द्रको पानी उछिट्टिएर आएर आफ्नो प्लेनमा ठोकिएको तर्क गरिन् । चिन्तामणिले पनि त्यो तर्कमा सहमति जनाए । एकैछिनपछि पानी पृथ्वीतिरै तल झर्दै गयो। पानी आएर प्लेनमा ठोकिनुभन्दा एकै छिन पहिले बुङ्गबुङ्गती उडेको प्लेनदेखि तलको धुलो पनि पानीले भिजाएर तल लग्यो। उनीहरुले प्लेन लगातार उडाइरहे । दश घण्टापछि दुबै जनाले अब के गर्ने विस्तारै प्लेनको तेल पनि सकिन्छ । पृथ्वीमा त कोही पनि जिउँदा छैनन् होला । ल्याण्ड गर्न एयरपोर्ट पनि छैन होला । अन्तरिक्षमा गएका केही मान्छे मात्र बाँकी होलान् तर उनीहरु पनि त पृथ्वीमा ओर्लने उपाय छैन होला भन्ने तर्क वितर्क गर्न थाले । त्यो अवस्थामा पनि उनीहरुलाई भने त्यही प्लेनमा पनि किस खाने र जिस्कने गर्नुपर्ने कस्तो अचम्मको मान्छेको स्वभाव ।

समय आकासमा वित्दै गयो । प्लेनको मिटरले ट्याङ्कीमा भएको तेलले चार घण्टा मात्र उडान गर्न सकिने बताएपछि उनीहरुले प्लेनलाई विस्तारै पृथ्वीतिर ओराल्दै स्थिति बुझ्न थाले ।

पृथ्वीभन्दा पन्ध्र सय फिट जति माथि उड्दै गरेको प्लेनबाट उनीहरुले धेरैजसो ठाउँमा पानी र कतै कतै आगो बलेको देख्न थाले। आगो बलेका ठाउँहरु पहिलेका शहर हुन सक्ने अनुमान गरे । प्लेन उडाउँदै उनीहरुले अब पानी नभएको र आगो पनि नबलेको ठाउँमा प्यारासुटबाट हाम फाल्ने सल्लाह गरे । दुबै जनाले पहिला नै प्यारासुटबाट झर्न सामान्य तालिम लिएका थिए ।

प्यारासुटबाट हाम फालेपछि फरक फरक ठाउँमा पुगिन्छ होला अनि कसरी भेट गर्ने ? न मोवाइलले काम गर्छ भन्दै सुप्रियाले चिन्ता व्यक्त गरिन् । चिन्तामणिले 'धेरै टाढा भइँदैन त्यसैले जहाँ पुगिन्छ त्यहाँ तिमीले राखेको लाइटरले आगो सल्काउनु । म त्यही आगो हेरेर तिमीसँग आउँछु' भने । त्यत्तिकैमा प्लेनबाट एउटा ठूलो नदी बगेको देखियो । कुन देश, कुन शहर भन्ने कतै कुनै नाम निसान थिएन । सबै ध्वस्त भएको थियो । अन्तमा प्लेनमा तेल सकिनै लागेपछि दुबैले प्लेन त्यही नदीमा ल्याण्ड गराए । ल्याण्ड गराउनुभन्दा पहिला नै दुबैले प्लेनबाट झरेर लेफ्ट (बायाँ)तिरको भूमिमा पौडेर निस्कने सल्लाह गरे । ल्याण्ड गर्नुभन्दा पहिले पानीमा हाम फाल्ने पहिरन तथा सामान पहिरिएर आपतकालीन ल्याण्ड गरेकोले उनीहरू योजनाअनुसार जमिनमा पुगे ।

तर न त कतै हरियाली देखिन्थ्यो न कतै सडक थिए । न त कतै घर थिए । अन्योलमा दुबै जना थचक्क भुइामा बसेर सन्तान जन्माउने र पृथ्वीमा मानव बस्ती विकास गर्ने योजना बनाउन थाले । तर चिन्ता थियो त– आफ्ना सन्तानलाई आफूले देखे भोगेको विज्ञान उन्नति र आधुनिक समाज बारेको ज्ञान कसरी हस्तान्तरण गर्ने ? कसरी सिकाउने?

खोलाका माछा मार्ने, खाने नै उनीहरुको दैनिकी बन्यो । उनीहरुले अव पृथ्वीमा मानव समाजको फेरिबाट विकास गर्नु पर्ने थियो । त्यो सवै कुरा चिन्तामणि र सुप्रियाको जिम्मामा पर्‍यो ।





तपाईंको प्रतिकृया

tapai ko kalpana sakti lai ta maile mane.

tapai ko kalpana sakti lai ta maile mane.

Its nice ..

manta

katha ramro lagyo.

bichara, chinta mani ra supriya, yeklai pare tyo sansar ma, but kamsekam uani haru ta 2 jana thiye ni aafu ta yeklai 6u bachera po ke garne hos ma ta aru sagai marne ho. interesting katha, thanks a lot.

test



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम