एउटा गाउँमा दुई दाजुभाइ बस्दथे । तिनीहरूमा एकजना भाग्यलाई ठूलो मान्ने र अर्को जना पुरूषार्थलाई ठूलो मान्ने थिए । आ–आफ्नो मान्यताको आधारमा नाम पनि भाग्य र पुरूषार्थ राखेका थिए । तिनीहरूको बीचमा आ–आफ्नो मान्यता ठूलो भन्ने देखाउन ठूलो र चर्को वादविवाद र तर्क वितर्क हुने गर्दथ्यो । तर दुवैले आ–आफ्नो अडान भने छाड्न मान्दैनथे । पुरूषार्थ भन्दा भाग्य ठूलो हुन्छ, किनकि भाग्यले पुरूषार्थलाई अधिनमा राख्दछ भनेर भाग्य भन्ने गर्दथ्यो भने भाग्य छ भन्दैमा डोकोमा दूध अड्दैन पुरूषार्थले भाग्य निर्माण गर्दछ त्यसैले पुरूषार्थ ठूलो हुन्छ भनेर पुरूषार्थ भन्ने गर्दथ्यो ।
तर्कवितर्कबाट कुराको टुङ्गो नलागेकोले प्रयोगद्वारा प्रमाणित गर्ने भनेर भाग्य र पुरूषार्थ बाटो लागे । जाँदाजाँदा तिनीहरू एउटा खोलाको किनारमा पुगे । वर्षाको मौसम भएकोले खोलामा बाढी आएको थियो । साँझ झमक्कै परेको हुनाले चारैतिर अँध्यारो हुँदै थियो । खोलापारी फलपूmलका बोटहरू पनि प्रसस्तै थिए भने बास बस्नको लागि धर्मशाला पनि थियो । भोका र थकाइको कारणले ती दुवै दाजुभाइ आकुल व्याकुल भएका थिए भने खोलामा बाढी झन् झन् बढ्दै आइरहेको थियो । एक घण्टा मात्रै त्यहाँ बस्ने हो भने खोलाले बगाउने निश्चित थियो । आएकै बाटो फर्कौ भने जंगली जनावरहरूको शिकार हुने पक्का थियो । ‘हाम्रो भाग्यमा आज हाम्रो मुत्यु लेखिएको रहेछ बुझिस् ? तेसो पुरूषार्थले केही पनि नाप्न सक्दैन अब ।’ भाग्य यति भनेर बगरमा थचक्क बस्यो ।
पुरूषार्थ यता उति नजर लगाउन थाल्यो तर चारैतिर अँध्यारो बाहेक केही पनि देखिएन । यत्तिकैमा खोलापारीको धर्मशालामा बत्ती बलेको देखियो । पुरूषार्थले पारिपटि कोही छन् कि भनी बोलायो तर प्रतिउत्तरमा खोला सुसाएको भन्दा केहीको पनि आवाज आएन । ‘हाम्रो भाग्यमा आज मृत्यु बाहेक केही छैन । तँ त्यसै किन आफ्नो परिश्रम खेर फाल्दछस् अब चूपचाप मृत्युलाई स्वीकार गर ।’ भाग्यले मुन्टो नउठाइकन पुरूषार्थलाई भन्यो । ‘तँ नकरा, मान्छेले जस्तोसुकै कठिन समयमा पनि हरेस खान हुँदैन, मुत्यु सबैको पछाडि हिंडेको हुन्छ, यसो भन्दैमा समस्याको समाधान तिर नलागी मुत्युलाई आत्मसमर्पण गर्नु डरछेरूवापन हो, सास छउन्जेल आस मार्न हुँदैन ।’ पुरूषार्थले बढो फुर्तिका साथ जवाफ दियो ।
पुरूषार्थले खल्ती छाम्यो खल्तीमा उसले सलाई फेला पा¥यो । यता उतिका पतकर बटुलेर उसले आगो सल्कायो । बलेको आगो वरपर उज्यालो देखियो । खोलामा बाढी बढ्दै आएको पनि देखियो । यत्तिकैमा खोला पारी एकजना बूढा देखिएको ‘म कान पनि सुन्दिन अनि लंगडो पनि छु । खोलामा बाढी बढ्दैछ त्यसैले यो डोरी म रूखमा बाँधेर तिमीहरूपट्टि फालिदिन्छु यसैमा समातेर खोला तरो’, बूढो डोरी फाल्दै कराएँ । पुरूषार्थले डोरी समायो र भाग्यको कम्मरमा बाँध्यो अनि आफूचाहिं डोरी समाउँदै पारी गयो र भाग्यलाई पनि तान्यो यसरी दुवै दाजुभाइ पारी गए ।
दाजुभाइ धर्मशालाको एउटा कुनामा गएर बसे । खाने कुरा केही पनि थिएन न त सुत्ने ओछ्यान नै थियो ।
‘यो सबै भाग्यको खेल हो कुरा बुझिस् ?’ भाग्यले भन्न थाल्यो । ‘नकरा ! तेरो भाग्यको लहैलहैमा लागेको भए अघि नै खोलाले खाइसक्थ्यो यो त पुरूषार्थको कारणले पाएको जीवन हो ।’ पुरूषार्थले जवाफ दियो ।
‘ठीक भन्यो भाइ म पनि पहिले सबैकुरा भाग्यकै खेल सम्झने गर्दथे तर भाग्यको भरमा सबै कुरा छोड्दा म बहिरो र लंगडा बन्न पुगें । पछि भाग्यको भर पर्न छाडेर पुरूषार्थलाई मान्न थाले पछि मैले पनि नयाँ जीवन पाएँ । भाग्य निर्माण गर्ने पुरूषार्थ हो । बल र बुद्धिलाई ठीकसँग मिलाएर गरिने राम्रो र स्वाबलम्बी कार्य नै पुरूषार्थ हो ।’
यस्तो आवाज सुनेर पुरूषार्थले सलाई पा¥यो उनीहरू नजिकै अघि डोरी दिने बाबा सुतिरहेका थिए । बाबाले टुकी बालेर ती दाजुभाइलाई खानेकुरा दिए । भाग्यले आफ्नो हठ छाड्यो र पुरूषार्थ नै ठूलो भएको कुरा स्वीकार ग¥यो ।
त्यसपछि दुवै दाजुभाइ घर आएर आ–आफ्ना पौरख गरेर बसे ।