१
उन्नतिका आफ्नै परिभाषा सबका अर्थ आफ्ना आफ्नै
एउटै भिडमा मिसिएर खोज्दैछन् चर्चा आफ्ना आफ्नै
कसैलार्इ पीर देश डुबेको, कसैलार्इ कुर्सी गुमेको
आन्दोलनरत जनता र नेताका स्वार्थ आफ्ना आफ्नै
२
हरेक किताबमा भयानक पातो देखिन्छ
छाम्दा कस्तो होला, हेर्दा तातो देखिन्छ
कति विध्न हिंसा भएछ यस धर्तीमा
कालो अक्षरले लेख्दा पनि रातो देखिन्छ।
३
हामीले बनायौँ र उसको आकार भयो
हाम्रै टाउको ऊ उभिने आधार भयो
माग्नेभन्दा दिने ठूलो भन्ने हैन रहेछ
अमूल्य भोट हामीले दियौँ, ऊ समाचार भयो।
४
चुनाब नहुन्जेल जनाताको निक्कै सत्कार भयो
चुनाब जितेपछि उसकै ठूलो हुँकार भयो
हामीलाई पुज्ने मान्छे, हाम्रै टाउको फुटाउँदैछ
हेर हाम्रो समर्थनले उसको कत्रो अधिकार भयो ।
५
चारैतिर त्रास बढ्यो जब तिमी सामु आयौ
को हौ तिमी भेद खुल्यो जब तिमी सामु आयौ
कति त भ्रममा थिए तिमी देउता नै हौ भन्ने
कति लामो इतिहास ढल्यो जब तिमी सामु आयौ ।
तपाईंको प्रतिकृया
sabai muktak dherai ramra chan.