Online Nepali Literature Forum
   

Users Online : 14
बाल साहित्य
प्रसिद्ध लोककथा: रिप भान विंकल (अमेरिकी लोककथा) - [2008-01-24]

अमेरिकाको क्याट्सकिल पहाडको फेँदीमा एउटा गाउँ थियो । त्यो गाउँमा रिप भान विंकल नाम भएको एक जना मानिस बस्थे । उनी निक्कै सोझा थिए । आफ्ना छिमेकीहरूलाई सघाउन उनी सँधै अघि सर्थे । साँच्चै भन्ने हो भने उनी आफ्नो काम छाडेर जहिले पनि अरुकै काम गरिरहेका हुन्थे ।

उनको यस्तो बानीले उनकी पत्नी साह्रै दिक्क थिइन् । उनी दिनभरि कचकच गरिरहन्थिन् । "रिप, आज तिमी श्रीमती ग्रिनको भित्ता लिप्न व्यस्त छैनौ भने गोठमा मुसाको प्वाल टाल । छिमेकी किसानको घुर डढाल्नुको सट्टा कुखुरालाई चारो ख्वाऊ अनि गाईको दूध दुह । आर्ने ज्याकबको पर्खाल बनाउन छाड । बारीमा गएर आलु गोड । गाडा सफा पार्ने काम छ । ढल सफा गर्नुछ । आगन बढार्नुछ . . . ।" सँधैजसो यस्तै कुरा हुन्थ्यो ।

पत्नीको कचकच सुन्नु पर्ला भनेर रिप वान विंकल प्रायः काँधमा बन्दुक बोकेर आफ्नो इमानदार कुकुर उल्फलाई सँगै लिएर पत्नीसँग एक बचन पनि नबोली घरबाट निस्कन्थे । पत्नीको झिनो स्वर समेत नसुनिने ठाउँमा उनी पुग्न चाहन्थे । उनी पहाड, खोलाको तिरैतिर र सल्लाघारीमा घुम्थे जहाँ चराहरूको चिरबिर, पात सुसाएको र उसको कुकुर थाकेर स्याँस्याँ गरेको मात्रै सुनिन्थ्यो । घर फर्केपछि यसको बदलामा घेरै कुरा सुन्नु पर्नेछ भन्ने उनलाई थाहा थियो । तर दिनभरिको शान्तिपूर्ण र घमाइलो दिनको बदलामा यो उनका लागि कुनै ठूलो कुरा थिएन ।

एक दिन यस्तै शान्त एकान्त वातावरणमा हराएको बेला रिप वान विंकल रुखको सिँयालमुनि आराम गरिरहेको बेलामा उनले कसैले बोलाएको सुने । "रिप वान विंकल ! रिप वान विंकल ! रिप वान विंकल !" भनेर कसैले चिच्याएर बोलाइरहेको थियो ।
उल्फ कुकुरले कान चनाखो पार्दै आवाज आएको दिशातिर हेर्दै सुस्तरी भुक्यो । रिपले पनि त्यतातिर हेर्यो । हरिया घाँसहरूको माझमा उनले निहुरिएको हरियो प्वाँख देख्यो । त्यो प्वाँख चहकिलो रातो टोपीमा घुसारिएको थियो । अनि त्यो टोपी लामो दाह्री पालेको मानिसको टाउकोमाथि थियो । त्यो मानिस रिपले लाएको बुट जुत्ताभन्दा अग्लो थिएन । त्यसले काठले बनेको जाँड (बियर) राख्ने गोलो भाँडो, ब्यारललाई बोकेर लैजाने कोशिस गर्दै थियो ।

त्यो बाउन्नेले रिपलाई बोलाउँदै भन्यो, "रिप वान विंकल ! रिप वान विंकल ! रिप वान विंकल ! यो ब्यारेलको भारीले म च्यापिन लागेँ । तिमी मलाई मदत गर्न सक्छौ कि !"
रिपलाई अरुले अह्राएको काम गर्ने बानी परिसकेको थियो । बाउन्नेको कुरा सुन्ने बित्तिकै उसलाई मदत गर्न उनी तयार भए ।

ब्यारल गह्रुँगो थियो । रिपले एकातिरबाट उचालेको देखेर बाउन्नेले लामो सासा फेर्दै भन्यो, "बेस गर्यौ । अब हामी माथितिर लागौँ !" यसरी रिपले बाउन्नेलाई आफ्ना बुटले कुल्चनबाट जोगाउँदै दुईतिर दुई जनाले उचालेर पहाडको उकालो चढ्न थाले ।
यसरी एक घण्टाभन्दा धेरै उकालो हिँडेपछि बाउन्नेले रिपलाई छङछङ गर्दै झरिरहेको छाँगोमा पुर्यायो । छाँगोको पछाडि गोप्य बाटो थियो । त्यो बाटो भएर उनीहरू ठूलो गुफाभित्र पुगे ।

गुफाभित्र धेरै बाउन्नेहरू थिए । जताततै बाउन्नेहरू यताउता गरिरहेका थिए । केही बाउन्नेहरूले भोज ख्वाउनेहरूले लाउने एप्रोन लाएका थिए । उनीहरूले रिपले ल्याएकाजस्ता ब्यारलबाट अग्लाअग्ला मगहरूमा बियर भर्दै थिए । केही बाउन्नेहरू नाइनपिन भनिने खेल खेलिरहेका थिए । उनीहरू खेलमा रमाउँदै कराइरहेका थिए । धेरै बाउन्नेहरू बियर खाएर मस्त भै बियर खाएको मग आपसमा ठोक्काउँदै त्यसैको सुरमा ठूलोठूलो स्वरले गाइरहेका थिए ।

"कुर्सी तानेर बस ।" रिपको नयाँ साथीले रिपलाई भन्यो र मगभरि बियर राखेर उसलाई खान दियो । "उकालोमा भारी बोक्दा तिमी थाक्यौ होला । तीर्खा पनि लाग्यो होला । दिल खोलेर बियर खाऊ ।" उसले भन्यो ।

"ओहो यति धेरै बियर कसरी खाने !" भन्दै छक्क परेको रिप वान विंकलले बियरको ठूलो घुटको निल्दै भने । "जे होस् । यो त साह्रै मिठो रहेछ !" उनले ओँठ चाट्दै भने र फेरि आफ्नो मग बियरले भरे । कुनै पनि बाउन्नेले उनलाई वास्ता गरेन । अनि रिपले बाउन्नेहरूले नाइनपिन खेल प्रतियोगिता खेलिरहेको हेर्न थाले ।

"दिउँसोको समय बिताउने यो सबैभन्दा रमाइलो काइदा रहेछ !" उनले अर्को मग बियर थप्दै मनमनै भने । उनले थपीथपी बियर खान थाले । उनलाई आफूले कति रक्सी खाएँ भन्ने होसै भएन । उनी नजिकैको ठूलो ढुंगामाथि पल्टे र भुसुक्क निदाए ।

रिप जाग्दा बाउन्नेहरू गइसकेका थिए । गुफा रित्तो थियो । उनले हाई काढ्दै सँगै सुतेको उल्फलाई बोलाए । ती दुबै जागे र जिउ तन्काए । उनीहरू हतारहतार गुफाबाहिर निस्के, डाँडा ओर्ले र घरतिर लागे ।

घरको आगनमा पुग्ने बेलामा रिपले उल्फलाई भने, "एक छिन पर्ख । मेरी पत्नी अहिले आकासपाताल उचाल्ने गरी कराउन थाल्नेछिन् ।" उनले ढोका ठेल्ने हातो समातेर बिस्तारै ढोकालाई घचेटेर खेल्न खोजे । तर सजिलोसँग ढोका खुलेन । रिपले अलि जोड लगाए । तैपनि खुलेन । उनले ढोकामा साँचो लाएको अडकल गरे । तर उनकी पत्नीले कहिल्यै पनि ढोकामा साँचो लाउन्नथिन् ।

त्यही बेला घरको मूलढोका खुल्यो । ढोकाबाट रिसले चूर भएकी महिला उभिएकी थिइन् । "को हौ तिमी ?" ती महिला चिच्याइन् ।

ती महिला रिपकी पत्नी थिइनन् । यसैले उनले भने, "तिमी मेरो घरको ढोकामा के गरिरहेकी छ्यौ ?" ती महिलालाई रिपले पहिले कहिल्यै देखेका थिएनन् ।

"तिमी को हौ ? मेरो घरमा के गर्दैछ्यौ ?" रिपले आत्तिँदै सोधे ।

"के रे ? तिम्रो घर रे ? म यो घरमा बस्न थालेको उन्निस वर्षन्दा धेरै भयो !" महिलाले रिसाउँदै भनिन् ।

रिपले आफ्नो वरिपरि र घरको बरण्डा अनि आगनमा हेरे । उनले टाउको तन्काएर हेरे । ती महिलाको कुरा ठिक थियो । त्यो घर उनको थिएन । त्यो घर उनको घरजस्तै थियो । तर घरका झ्यालमा राखिएका पर्दाहरू बेग्लै थिए । आगनमा राखिएका टेबुल कुर्सी पनि फरक थिए । गोठअगाडि राखिएको घोडाले तान्ने गाडी पनि पनि उनको थिएन ।
"तर, ... म, ... कसरी ..." रिप भकभकाउन थाले । "श्रीमती वान विंकल कहाँ छिन् त ?"
"श्रीमती वान विंकल ?" छक्क परेकी ती महिलाले ट्वाल्ल परेर हेरीरही । "उनी त बीस वर्षअघि नै यो गाउँ छाडेर गइन् । घुम्न गएको उनको लोग्ने हराएपछि उनी यहाँ बस्नसकिनन् । अब तिमी यहाँबाट गइहाल, नत्र प्रहरीलाई बोलाउनु पर्ला ।"

"बीस वर्ष!" रिप वान विंकल छक्कै पर्यो । उनले आफ्नो लामो दाह्री कन्याउन थाले । दाह्रीमा हात पुग्ने बित्तिकै रिपको ध्यान दाह्रीतिर गयो । उनको दाह्री बढेर घुँडासम्म पुगेको रहेछ । ती महिलाको कुरा साँचो हुनुपर्छ । म त बीस वर्षसम्म निदाएछु !

पुरानो कुरा सम्झना आउनेबित्तिकै रिपको जिउ फतक्क गल्यो । उनी काम्न थाले । उनले नजिकै उभिएको उल्फलाई ढाडस दिँदै थपथपाए । अनि उनले आफ्नो अनुहार माथितिर फर्काउँदै अलिकति मुस्कुराए । उनले अरुले नबुझ्ने गरी भने, "उल्फ, कस्तो दिन आयो ! अब कत्ति पनि कचकच सुन्नै पर्दैन ।"

यति भन्दै रिप त्यहाँबाट बाहिर निस्के र मुखले रमाइलोसँग सिठी बजाउँदै सडकको अर्को छेऊमा पुगे । तर रक्सी भट्टी भने पहिले जहाँ थियो अहिले पनि त्यहीँ रहेछ । उनी भट्टीभित्र पसे । त्यहाँ भएका मानिसहरू उनको कथा सुनेर निक्कै रमाए । त्यस दिनदेखि उनलाई जाँड खान एक पैसा पनि खर्च गर्नु परेन ।


from: Balsansar






Post Your Comment
Name:
Email:
Web Site:
Your Comment:
Word Verification: * Type the characters you see in the picture below.
If you can't read the characters,
click here.

*
Letters are not case-sensitive



[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम